गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अझै कहाँबाट जहाज अवतरण गर्ने भन्ने टुंगो लागेन

तारकेश्वर १९, चैत । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको मिति नजिकिँदै जाँदा जहाज कहाँबाट अवतरण गर्ने भन्ने कुराको अझै टुंगो लाग्न सकेको छैन ।

अबको तीन महिनाभित्र विमानस्थलको सम्पुर्ण काम पुरा हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले बताइरहेको छ । । त्यसको तीन महिनाभित्र जहाज उडान गर्न सकिन्छ । विमानस्थल निर्माण अन्तिम चरणमा पुगिसक्दा पनि जहाजहरु कहाँबाट अवतरण गर्ने विषयमा प्राधिकरणले टुंगो लगाएको छैन ।

भारतले एयर रुटको अनुमति अहिलेसम्म दिएको छैन । दुई वर्षअघि नै दुई देशबीच भएको दुई पक्षीय छलफलमा विमानस्थलमा जहाज अवतरणका लागि नयाँ रुट दिने मौखिक सहमति भएको थियो । हालसम्म यस विषयमा लिखित सम्झौता भने हुन सकेको छैन ।

सुरक्षाको कारण देखाउँदै भारतले थप हवाई रुट दिन नमानेपछि विमानस्थलमा जहाज कताबाट अवतरण र उडान गर्ने भन्ने विषयमा प्राधिकरणले आन्तरिक छलफल सुरु गरेको छ ।

भारतले नेपाललाई सिमरा रुटमा मात्र उडान अनुमति दिएको छ ।

विमानस्थलबाट उडान सञ्चालनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को स्वीकृति लिन बाँकी छ । प्राधिकरणले भारतका साथै आईकाओबाट स्वीकृति पाएको छैन ।