सहकारी संघ तारकेश्वर उप-समितिको छलफल तथा चियापान सम्पन्न

पुरुषोत्तम रिजाल
बालाजु , १९ चैत।
जिल्ला सहकारी संघ काठमाडौं लिमिटेड, तारकेश्वर नगर उप-समितिले ६४औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा छलफल तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।

स्थानीय नेपालटारस्थित पार्टी प्यालेसमा बुधबार आयोजित कार्यक्रममा तारकेश्वर नगरपालिकाभित्रका संगठित सहकारी, काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कुन), जिल्ला सहकारी बैंक, जिल्ला सहकारी संघ लिमिटेड, नगर सहकारी शाखा, राष्ट्रिय सहकारी बैंक लगायतका सम्बद्द संस्था तथा निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरुले सहकारीका बिबिध आयाम, संभावना र चुनौतीका बारेमा छलफल गर्नुभएको थियो।

नगर उप-समितिका अध्यक्ष राधाकृष्ण खड्गीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कुन)का संचालक राजकुमार खड्काले सहकारी संस्थाहरुलाई सुदृढ एवं गतिशील रूपमा संचालान गर्न आवश्यक राय-सल्लाह, तालीम र सहजीकरणको लागी कास्कुनले सहयोगी भुमिका निर्वाह गर्ने बताउनुभयो।

तारकेश्वर नगरपालिका सहकारी शाखाका प्रमुख तिर्थराज थापाले सहकारीहरुले उच्चतम बित्तिय अनुशासन कायम गर्दै बदलिँदो समयसँगै प्रबिधिमैत्री समेत हुनुपर्ने कुरामा जोड दिनुभयो।
जिल्ला सहकारी संघ लिमिटेड काठमाडौंका महासचिव मनोज भण्डारीले सहकारीको प्रकृति र प्रवृत्ति अनुसार स्थानीयताको आवश्यकता र संभावनालाई मध्यनजर गर्दै नगर भित्रका सहकारीहरुले सहकारीताका अभियान र क्रियाकलाप संचालनमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

राष्ट्रिय सहकारी बैंकका संचालक एवं जिल्ला सहकारी संघ लिमिटेड काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले सहकारीहरुलाई आवश्यक सहजीकरण, समन्वय र समस्या निराकरणको लागि संघ सहयात्रीको रूपमा सक्रिय रहेको बताउनुभयो। संस्थाहरुले सहकारीताका मुल्य, मान्यता, बिधि र पद्धतिलाई पुर्णतः अबलम्बन गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो।

प्रमुख अतिथिको रुपमा बोल्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के. बि. उप्रेतीले युवा पुस्तालाई सहकारीताप्रती यथोचित आकर्षित गर्न नसक्नु चुनौती रहेको भन्दै अबको दिनमा सहकारी आन्दोलनमा युवा पुस्तालाई थप आकर्षित गरिनुपर्नेमा जोड दिनुभयो। सहकारीता तथा बित्तीय साक्षरतालाई बिद्यालय तथा बिश्वबिद्धालयका पाठ्यक्रममा समाबेश गरेर नयाँ पिढिलाई सहकारीको अभियानमा जोड्न सक्नुपर्ने बताउँदै त्यसको लागि आफुहरु सम्बद्द पक्षहरुसँग छलफलमा रहेको उहाँले बताउनुभयो। बचत तथा कर्जा प्रवाहलाई मात्र मुख्य प्राथमिकता नदिई सहकारीहरुले कृषि, उत्पादन, बजारीकरण, सहभागीता र सहकार्यमा जोड दिनसके सहकारीताको आन्दोलन अघि बढ्न थप मद्दत पुग्ने उहाँले बताउनुभयो।

समितिले आगामी दिनमा वडा तहसम्मनै कमिटी निर्माण गरेर सहकारीहरुबिच सहकार्य, समन्वय र अनुभव आदानप्रदान गर्दै अघि बढ्ने नीति तय गरेको नगर उप-समितिका सचीव एवं स्थानीय गोल्डेन अर्थ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कबिन्द्र रिमालले बताउनुभयो।

जिल्ला सहकारी संघ काठमाडौं लिमिटेडले यस बर्षको लागी तय गरेको नारा “मर्यादित ब्यवशाय र प्रबिधिमा सहकारी” रहेको छ। नेपालमा सहकारी स्थापना भएको ६४ वर्ष पूरा भएको छ। देशमा पहिलो सहकारी स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाईन्छ। २०१३ साल चैत २० मा चितवनमा स्थापना भएको बखान सहकारी संस्था नेपालको पहिलो सहकारी संस्था हो। हाल देशभर करिब ३५ हजार सहकारी संस्था छन। सहकारी विकास बोर्डले तयार पारेको सहकारी क्षेत्रको २५ वर्षे रणनीतिक योजनामा आगामी २५ वर्षमा सो संख्या घटाएर १५ हजारमा सीमित गर्ने लक्ष्य तय भएको छ।