कसरी हुन्छ समृद्ध नेपालः सुखी नेपाली ?

समृद्ध नेपाल जसलाई परिभाषित गर्दा सबै आमनेपालीको उत्तर एउटैआउँछ त्यो हो सबल विकसित र आत्मनिर्भर देश नेपाल र सुखी नेपाली । जसको आशय आर्थिक, भौतिक वा मानसिक खुसी प्राप्त गरेका नागरिक रहेको देश हुनु हो ।

हाम्रो देशलाई समृद्ध बनाउने पर्याप्त आधार हाम्रै प्रकृतिमा रहेका छन्। हाम्रो देश नेपाल कृषि, जलस्रोत, खनिज सम्पदा, प्राकृतिक सौन्दर्य, जडिबुटी, जैविक विविधता आदिको अनुपम स्थल हो। यहि प्राकृतिक सम्पदाको बढिभन्दा बढि प्रयोगले नै नेपालको आर्थिक विकासमा मद्दत पुग्दछ।

हाम्रो देशलाई साँच्चै नै समृद्ध बनाउने हो भने सम्भावना नै सम्भावनाले भरिएको देशमा सरकारले व्यापक रुपमा आधुनिक कृषि प्रणाली, कृषि उत्पादन, भण्डारण र वितरणमा प्रविधिको प्रयोग र यान्त्रिकरण गर्दै प्रत्यक नागरिकलाई ज्ञान, सीप र उद्यमशिलताको अवसर प्रदान गर्न सक्नुपर्छ।

त्यस्तै व्यापक रुपमा आयात प्रतिस्थापन र निर्यात प्रवर्धन उधोगहरुको विकास गर्नुपर्दछ। देशको आर्थिक विकासलाई तिव्र रुपमा अघि बढाउन ऊर्जा तथा जलस्रोतको ‌क्षेत्रमा राष्ट्रिय अभियानकै रुपमा विकास तथा आमविधुतिकरण गर्नुपर्दछ।

स्वर्गको टुक्रो नेपाललाइ समृद्ध बनाउन पर्यटन क्षेत्रको विकास र विस्तारमा नेपाल सरकारले व्यवहारिक रुपमा जोड दिनुपर्छ।

म विश्वकै देशहरुमध्य नेपाल आमाको सन्तान भएर जन्मिएकोमा आफूलाई गौरवान्वित महशुस गर्दछु । पूर्वीय सभ्यताको उद्गगम स्थल हाम्रो भूमि कला साहित्य र संस्कृतिको गौरवको प्रतीक र खुला सङग्राहालय हो ।

यो जल, जमिन ,जङगल र वनस्पतिले सुसम्पन्न भएको र जैविक विविधता ,ऊर्जा ,कृषि र पर्यटन जस्तो आर्थिक विकासको प्रचूर आधार र पर्याप्त सम्भावना भएको देश हो नेपाल । यहाँ भूगर्भमा धातु र अधातु जन्य बहुमुल्य खनिजका भण्डारहरु रहेका छन् ।

यस्ता सम्पदाको बढि भन्दा बढि अध्ययन र प्रयोग गर्दै ,विदेशी आयातलाई घटाउँदै स्वदेशी उत्पादनलाई बढाएर आर्थिक विकासको पर्याप्त सम्भावनालाई प्रयोग गरी द्रुततर गतिमा नेपाललाई समृद्ध बनाउन सकेमा मात्र वर्तमान जननिर्वाचित सरकारले देशको समृद्धिको लागि अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली‘ भन्ने यस नाराले सार्थकता पाउने छ ।

आज धेरै नेपालीहरुले बेरोजगारीका कारण वैदेशिक रोजगारीको विकल्प रोजिरहेका छन्। वैदेशिक रोजगारी देशको समृद्धिको आधार बन्न सक्दैन।

आफ्नो दक्ष जनशक्तिलाई विदेश लखेटेर संसारका कुनैपनि देश समृद्धिको मार्गमा अघि बढ्न सकेका छैनन्। वैदेशिक रोजगारी बेरोजगारी समस्याको विकल्प भएपनि देश निर्माणको आधार बन्न सक्दैन।तसर्थ देशको समृद्धधि र जनताको खुसीका लागि स्वदेश भित्र रहेर नेपालीहरुले काम गर्ने वातावरण सिर्जना गरिनुपर्छ।

भौतिक विकासले मात्र देश समृद्ध र जनता सुखी हुन सक्दैनन्।यसको लागि सबै नागरिकमा सुलभ स्वास्थ्य सेवाको पहुँच ,मानव संसाधन विकास,खेलकुद ,रोजगारी,स्वच्छ र सुन्दर गाउँसहर,मर्यादित श्रम,अधिकारको स्वतन्त्रता,सुशासन र सामाजिक सुरक्षा आदिमा सबैको पहुँच भएमा मात्र जनताले देश समृद्ध भएको अनुभूति गर्न सक्छन्।

संङ्घीय संरचनाका तीनैतहलाई नेपालको समृद्धिका निम्ति महत्वपूर्ण प्रस्थान बिन्दुका रुपमा लिएर अगाडी बढ्नुपर्दछ।

दिवस ढकाल

१६ श्रावण २०७८, शनिबार