तारकेश्वरमा करोडौंको लगानीमा बनाईएको सभा कक्ष चलेन, कोभिड भत्ता दिन बजेट छैन : सरकारी खर्चमा धुलिखेलमा डिनर
तारकेश्वर ७, वैशाख । तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारी सरकारी बजेटमा भ्रमण र डिनरमा व्यस्त देखिएका छन् ।
करिब दुई साताअघि मात्रै रारा भ्रमणको नाममा १० लाख बढी रकम खर्च गरेर फर्किएका मेयर रामेश्वर बोहरा, उपमेयर भवानी डोटेल, प्रमुख प्रशासकिय अधिकृत शिव लम्साल सहितको टोली फेरि कार्यक्रम भन्दै बजेट सकाउने दाउमा काभ्रेपलाञ्चोकमा रात्री भोज गरेर फर्किएको छ ।
आफ्ना आसेपासेलाई कोभिड भत्ता दिइसकेपछि स्थानीयलाई कोभिड भत्ता दिन बजेट सकिएको र नगरपालिकाले आर्थिक व्यवस्थापन गर्न नसकेको बताउने नगरपालीका जनप्रतिनिधि र कर्मचारीहरुले भ्रमण, सेमिनार, गोष्ठीको नाममा लाखौं सिध्याँउदै आइरहेको छ ।
रारा भ्रमणको नाममा १० लाखभन्दा बढी रकम सिध्याएको दुई साता नबित्दै तारकेश्वर नगरशिक्षाको कार्ययोजना तयार गर्ने नाममा काभ्रेको महंगो होटलमा कार्यक्रम गरेर फेरी लाखौं खर्च गरेको हो ।
तारकेश्वर नगरपालिकाले भ्रमण, सेमिनार र गोष्ठीको नाममा अनुत्पादक क्षेत्रमा लाखौं खर्च गरिरहेको छ ।