तारकेश्वर नगरपालिकामा बिहीबारबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने

तारकेश्वर १५, वैशाख । तारकेश्वर नगरपालिकाले १६ गते बिहीबारबाट अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गर्ने भएको छ ।
तारकेश्वर नगरपालिकाको बुधबार बसेको बैठकले तारकेश्वर नगरपालिका तथा अन्तर्गतका वडा कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको तारकेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले तारकेश्वर अनलाइनलाई जानकारी दिए ।
कोरोना भाइरस कोभिड १९ को संक्रमण देशव्यापी रूपमा फैलिरहेको र काठमाडौं जिल्ला प्रशासनको निषेधाज्ञाको निर्णयलाई पालना गर्दै तारकेश्वर नगरपालिकाले आफ्नो सेवाहरू पनि बन्द गर्न लागेको नगरपालिकाले जनाएको छ ।
तारकेश्वर नगरपालिकामा निषेधाज्ञा भएपनि स्वास्थ्य केन्द्रहरु भने खुला रहने प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए।