त्रिशुली अस्पतालमा ५ चिकित्सक सहित ८ स्वास्थ्यकर्मी संक्रमित, ६४ जनामा परीक्षण गर्दा ६२ जना पोजेटिभ

नुवाकोट १७, वैशाख । नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

पछिल्लो २४ घण्टामा नुवाकोटको प्रदेश अस्पताल त्रिशुलीमा ६४ जनाको स्वाब परीक्षण गर्दा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै त्रिशुली अस्पतालको पाँच जना चिकित्सक सहित ८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

नुवाकोटको त्रिशुली अस्पतालमा हाल दस जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् भने ३ जना आईसियुमा रहेको त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डेले जानकारी दिए।

त्रिशुली अस्पतालमा उपचाररत आइसियुमा रहेका ३ जना कोरोना संक्रमित मध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको र जुनसुकै वेला भेन्ट्रिलेटमा सिफ्ट गर्नुपर्ने अवस्था रहेको डाक्टर पाण्डेको भनाई रहेको छ ।

अस्पतालमा चिकित्सकहरुको संख्या न्युन रहेकोले उपचारमा समस्या भईरहेको पाण्डेले बताए।

त्रिशुली अस्पतालले कर्मचारी व्यवस्थापन गर्न कर्मचारी आवश्यकताको विज्ञापन समेत गरेको छ ।

कर्मचारी व्यवस्थापनको लागि प्रदेश सरकारसँग कोअर्डिनेसन भइरहेको डाक्टर दिपेन्द्र पाण्डेले जानकारी दिए ।