कर्मचारीलाई कोरोना देखिएसँगै टोखामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

तारकेश्वर २०, वैशाख । टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गरिएको छ। 

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आइतबार एक विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण जनप्रतिनिधि र कर्मचारीमा देखिएपछि आगामी वैशाख ३० गतेसम्म नगरपालिका र वडाभित्रका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएको हो ।

नगरपालिकाका कर्मचारी  तथा वडाका जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण देखिएकाले वैशाख ३० गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरिएको टोखा नगरपालिकाका मेयर प्रकास अधिकारीले तारकेश्वर अनलाईनलाई जानकारी दिए।

नगरपालिकाले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी आदेश पूर्ण पालना गर्न, घरबाहिर ननिस्कन, निस्कनै परे अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न, कम्तीमा दुई मिटर सामाजिक दूरी कायम गर्न नगरवासीलाई आग्रह गरेको छ ।

यस्तै नियमितरूपमा साबुनपानीले हात धुन, सेल्फ क्वारेन्टिनलाई निरन्तरता दिई आफू पनि बाँच्न र अरुलाई पनि बचाउन अनुरोधसमेत गरेको छ ।

टोखाले बढ्दो कोरोना सङ्क्रमितलाई ध्यानमा राखेर अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र निर्माण गर्न लागेको छ । नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएसँगै वडा नं ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेसन केन्द्र स्थापना गर्न लागेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए।

२० बैशाख २०७८, सोमबार