नुवाकोटमा निषेधाज्ञा कडाइ हुन सकेन, कोरोना संक्रमितको संख्या बढ्दो (भिडियो सहित)

नुवाकोट २३, वैशाख । नुवाकोटमा मंगलबारदेखि सुरु भएको निषेधाज्ञाको तेस्रो दिन सम्म आइपुग्दा पनि कुनै प्रभाव परेको देखिँदैन ।
देशव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को जोखिम नियन्त्रणको लागी मंगलबारबाट एक साताको लागि लगाइएको निषेधाज्ञा निकै फितलो भएको छ ।
मंगलबार पहिलो दिन प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलालले निषेधाज्ञाको अनुगमन गरेको र निषेधाज्ञामा कडाइ गरेको दावी गरेका थिए । तर निषेधाज्ञाको तेस्रो दिनसम्म आइपुग्दा सिडिओ दुलालको भनाई यथार्थमा भने नुवाकोटमा देखिँदैन ।
नुवाकोटमा मंगलबारको तुलनामा निषेधाज्ञा झनै फितलो देखिएको हो । जिल्लामा सक्रिय सक्रमितको सङ्ख्या तिव्र रुपमा बढ्दै गइरहेको भएतापनि निषेधाज्ञा फितलो हुँदै जाँदा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
नुवाकोटको सदरमुकाम विदुर, बट्टार बजार , गंगटे लगायतका मुख्य चोकहरुमा सुरक्षाकर्मी खटाइएको भएतापनि बजारक्षेत्रमा चहलपहलमा केही मात्रामा मात्र कमि आएको छ ।
नुवाकोटमा अति आवश्यक बाहेकका विभिन्न सेवा कटौती गरिएको भनिएतापनि सवारी साधनको चाप घटेको भने छैन ।
जिल्ला प्रशासन कार्यालय नुवाकोट बजार क्षेत्रमा निषेधाज्ञाको कार्यान्वयनमा निकै कमजोर देखिएको छ ।