यस वर्ष पनि सलहका झुण्ड नेपाल आउन सक्ने,सलहविरुद्ध पूर्वतयारी थालिँदै
काठमाडौं,१४ जेठ । गत साता ‘ताउते चक्रवात’ आएपछि पाकिस्तान र भारतका मुरुभूमिमा सलह किराको वंश वृद्धि हुँदै गएको छ । योसँगै नेपालमा फेरि सलहको झुण्ड आउन सक्ने खतरा रहेको भन्दै सतकर्तासहित पूर्वतयारी थालिने भएको छ।
विश्व खाद्य कार्यक्रमले प्रकाशित गर्ने सलहबारेको नियमित रिपोर्ट अध्ययन गरेपछि विज्ञहरुले गत वर्षजस्तै नेपालमा सलह आउनसक्ने जोखिम रहेको ठहर गरेका छन् ।
तत्कालको मौसमी अवस्था हेर्दा सलह आउन सम्भावना नदेखिए पनि कुनै पनि बेला हुनसक्ने मौसमी बदलावले सलह आउनसक्ने उनीहरुको चेतावनी छ ।
ताउते आँधिपछि यो क्षेत्रमा ‘यास् चक्रवात’ सक्रिय भएकाले मौसमी परिवर्तनको सम्भवना छ । त्यसले सलहलाई नेपाल ल्याइपुर्याउने जोखिम रहेको विज्ञको भनाई रहेको छ ।



