राप्रपा काठमाडौं क्षेत्र नं ६(ख)ले थाल्यो घरदैलो अभियान

तारकेश्वर, १३ कात्तिक । तारकेश्वर नगरपालिकाको ३ वटा र टोखा नगरपालिकाको ८ वटा वडा समेटिएको काठमाडौं क्षेत्र नं ६(ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो कार्यक्रम सुरु गरेको छ ।
आइतवारबाट सुरु भएको घरदैलोमा टोखा नगरपालिकाका विभिन्न क्षेत्रमा निवार्चन आचारसंहितालाई पालना गर्दै घरदैलो गरेको राप्रपा टोखा नगरकमिटिका अध्यक्ष योगेन्द्रराज पाण्डेले तारकेश्वर अनलाईनलाई जानकारी दिए । घरदैलो कार्यक्रममा समानुपातिक उम्मेदवार राप्रपाका पूर्व महामन्त्री एवं कामनपाका पूर्व मेयर राजाराम श्रेष्ठ, क्षेत्र नं ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु आचार्य, क्षेत्र नं ६ (ख)का उम्मेदवार चिरागमान सिंह कुवँर, प्रतिनिधि सभाकी समानुपातिक उम्मेदवार सरला विक एवं पार्टीका आमन्त्रित केन्द्रीय सदस्य केबी राउत लगायत सहभागी भएका थिए ।
घरदैलो कार्यक्रमपछि बोल्दै राप्रपा नेता श्रेष्ठले ठूला भनिएका दलले दशकौंसम्म राज्यदोहनमात्र गरेको र जनताका पक्षमा काम गर्न नसकेको अवस्थामा जनताले वैकल्पिक प्रजातान्त्रिक शक्ति खोजेको भन्दै राप्रपाका पक्षमा जनलहर आएको दावी गरे । प्रदेश(ख)का उम्मेदवार चिरागमान सिंह कुवँरले लामो समय अन्य पार्टीका प्रतिनिधि हुँदा काठमाडौंको उत्तरी नगरपालिकाहरु टोखा र तारकेश्वर अझै राजधानीको दुर्गम स्थान बराबर भएको भन्दै यसपटक आफुले जितेर टोखा र तारकेश्वरलाई प्रतिनिधित्व गर्ने सशक्त प्रदेश सांसद हुने दाबी गरे ।