असनको अन्नपूर्ण मातासमक्ष सपथ खाएर राप्रपाका उम्मेदवारले थाले चुनावी अभियान

काठमाडौं, १७ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नं ६ ले असनमा रहेको अन्नपूर्ण मातासमक्ष सपथग्रहण गरेर चुनावी अभियान थालेको छ ।

निर्वाचन आयोगले तोकेबमोजित चुनावी प्रचार गर्न पाइने पहिलो दिन राप्रपाका उम्मेदवारहरु मन्दिर दर्शन र सपथ खान बिहीवार विहानै असन पुगेका थिए । कार्यक्रममा राप्रपा काठमाडौंका अध्यक्ष नवराज सिम्खडाले ३० वर्षयता देशलाई असफल बनाउनेहरुलाई बिदा गर्ने र राप्रपालाई देश हाँक्ने मौका दिन जनताहरु आतुर रहेको बताए । प्रदेश संरचनाको खारेजी, राजसंस्था सहितको बहुदलीय प्रजातन्त्र, सर्वधर्म समभाव सहितको वैदिक हिन्दु राष्ट्रको स्थापना र आर्थिक सामाजिक रुपान्तरणका लागि राप्रपा संघर्षरहत रहेको भन्दै त्यसैअनुरुप निर्वाचन अभियानमा जनतासँग मत माग्ने उनको भनाइ छ ।


अन्नपूर्ण माताको पूजा आराधना गरिसकेपछि उम्मेदवारहरुलाई राप्रपा क्षेत्र नं ६ का क्षेत्रीय अध्यक्ष टंकप्रसाद अधिकारीले सपथ खुवाएका थिए । सो कार्यक्रममा सपथ लिनेहरुमा प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नं ६ का प्रत्यक्ष उम्मेदवार विष्णु आचार्य, समानुपातिक उम्मेदवारहरु सरला विक, सविना राजभण्डारी, प्रदेशसभा सदस्यका उम्मेदवार हरु ६ (क)का जगतसागर महर्जन, ६(ख)का उम्मेदवार चिरागमान सिंह कुवँर, प्रदेश सभाका समानुपातिक उम्मेदवार राजाराम श्रेष्ठ लगायत उम्मेदवार थिए । उनीहरुले राप्रपाको उद्देश्यमा समर्पित रहने, भ्रष्टाचार गर्नु र आमाको रगत खानु बराबर भएको र बरु नष्ट हुने तर भ्रष्ट नहुने भन्दै सपथ खाएका हुन् ।

 

१७ कार्तिक २०७९, बिहीबार