साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ: प्रधानमन्त्री दाहाल

काठमाडौँ, : प्रधानमन्त्री पुष्पकमल दाहालले लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्ने बताउनुभएको छ ।

आजबाट काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको ‘१६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङ्गारिक कृषि मेला–२०७९’ को उद्घाटन कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री दाहालले साना तथा घरेलु उद्योगका लागि सहज रुपमा कर्जा पाउने र त्यस्ता उद्योगबाट उत्पादित वस्तुको प्रवद्र्धनका लागि सरकारले केहि महत्वपूर्ण नीतिगत व्यवस्था गर्न लागेको बताउनुभएको हो ।

“सरकारको नीतिबाटै साना तथा घरेलु उद्योग प्रवद्र्धन र संरक्षण गर्न आवस्यक छ । त्यसका लागि छुट्टै ऐन चाहिएको छ । यस्ता उद्योगमा लगानी बढाउन सरकारले विशेष व्यवस्था गर्छ ।”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

केहि दशकअघि नेपालले कृषि उपज र खाद्य वस्तु निर्यात गर्ने गरेको बताउनुहँुँदै प्रधानमन्त्री दाहालले नेपाली वस्तुको प्रयोगमार्फत नेपाली हुनुमा गर्व गर्नुपर्ने र कृषिमा आधारित उद्योगको लगानीमा बढावा दिनुपर्ने बताउनुभयो । “हामी पाँच दशक अघि खाद्यान्न निर्यात गथ्र्यौं । नेपालमा कृषिमा आधारित उद्योग बढी फस्टाउन सक्ने देखिएको छ । मौलिक उत्पादनलाई बजारीकरणका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने बेला आएको छ ।”, उहाँले भन्नुभयो ।

लघु, घरेलु तथा साना उद्योगमा बैंक तथा वित्तीय संस्थाबाट प्रबाह हुने कर्जालाई सहज बनाउनका लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत् पहल गरेको पनि दाहालले बताउनुभयो । त्यस्तै यस्ता उद्योगमा प्रबाह भएको कर्जाको पुनरर्संरचना र पुनरतालिकीकरणका लागि पनि राष्ट्र बैंकले कुनै ठोस निर्णय गर्नुपर्ने बताउनुभयो ।

अहिले मुलुक वित्तीय संकटको अवस्थाबाट गुज्रिरहेकाले त्यसको निराकरण सरकारको पहिलो दायित्व हुने पनि प्रधानमन्त्री दाहालको भनाइ छ । “तत्काल देखिएको वित्तीय संकट हटाउनका लागि सरकार लागिपरेको छ । अर्थतन्त्र सुधार गर्नु सरकारको मुख्य कार्यभार हो र यो पटक हामीलाई असफल हुने छुट छैन ।” दाहालले भन्नुभयो ।

सोहि कार्यक्रममा बोल्नुहुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपालको परम्परागत सीपलाई व्यवसायीकरण गर्न आवस्यक रहेको बताउनुभयो । “निर्यात प्रवद्र्धधन र आत्मनिर्भर अर्थतन्त्र निर्माण अहिलेको आवस्यकता हो । हाम्रो पुरानो सीपलाई व्यवसायीकरण गरेर आत्मनिर्भर बन्ने मात्र होइन हामी निर्यात प्रवद्र्धनमा पनि लाग्नुपर्छ । नेपालमा उत्पादित वस्तुले बजार पाउन थालेको छ । तपाईहरु उत्पादन बढाउनतिर लाग्नुहोला ।” मन्त्री चौधरीले भन्नुभयो ।

बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बर तामाङले मौलिक र स्वदेशी उत्पादनको बजारीकरणका लागि प्रदेश सरकारले भूमिका खेल्ने बताउनुभयो । “व्यापार प्रवद्र्धनमा सरकारी नीतिको पनि महत्वपूर्ण भूमिका रहन्छ । हामीलाई हाम्रो पुस्ताले दिएको सम्पत्ती भनेको कला र संस्कृति हो । त्यसलाई व्यवसायीकरण गर्न प्रदेश सरकार सबै खालका सहयोग गर्न तयार छ ।” उहाँले भन्नुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र केन्द्रीय महिला उद्यमी समितिले आयोजना गरेको प्रदर्शनी तथा मेला फागुन ६ गतेसम्म चल्नेछ । मेलामा करिब दुई लाखले अवलोकन गर्ने र आठ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान आयोजकले गरेको छ। रासस