तानपा वडा नं ८ मा वडाध्यक्षको पहलमा सडकका खाल्डो पुरेर कालोपत्रे गरिँदै

तारकेश्वर, १६ चैत । व्यापक जनगुनासो र कम्सल सडक भएपछि तारकेश्वर नगरपालिका वडा नं ८ ले वडाका विभिन्न सडकखण्डमा खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्न सुरु गरेको छ ।

सडकमा खाल्डाखुल्डी हुँदा आवतजावत असहज भएको भन्दै वडाले कालोपत्रे गर्न सुरु गरेको हो । बिहीवारबाट सुरु भएको खाल्डा पुर्ने र कालोपत्रे गर्ने कार्य ३-४ दिनभित्र सकिने वडाध्यक्ष श्यामकृष्ण सापकोटाले तारकेश्वर अनलाईनलाई जानकारी दिए । बिहीवार पहिलो दिन टुसाल मल्टीभेन्युदेखि फुटुंग जाने ठाउँमा कालोपत्रे गरिएको छ । कालोपत्रे गर्ने शीर्षकमा वडामा बजेट नभएकाले नगरपालिकालाई पहल गरिएको सापकोटाको भनाइ छ ।

हाललाई सुरु गरिएको सडक स्तारोन्नति कार्यलाई करिब ५ लाख बराबर बजेट लाग्ने वडाको आंकलन छ । आजदेखि सुरु भयो, लामबगरमा पनि फुटेको ठाउँमा काम भइरहेको छ । यसै कार्यक्रम अन्तर्गत टुसाल चौरदेखि लामबगर जाने बाटोमा पनि सडक बिग्रिएको ठाउँमा कालेपत्रे गरिने वडाध्यक्ष सापकोटाले बताए ।