चर्चामा रहेका काठमाडौं १६ का वडाध्यक्ष रिजालको मृत्युले शुभचिन्तक विक्षिप्त
तारकेश्वर, २१ भदौ । काठमाडौं महानगरपालिका वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालको भाइरलत संक्रमणको कारण अचानक मृत्यु भएपछि उनलाई जान्ने बुझ्नेहरु स्तब्ध भएका छन् ।
नेपाली काँग्रेसको काठमाडौं क्षेत्र नं ७ का क्षेत्रीय अध्यक्ष समेत रहेका रिजालको काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको हो । चिकित्सकका अनुसार रिजाललाई उच्चदरको भाइरल संक्रमण थियो । उक्त भाइरल के थियो भन्ने बारेमा स्पष्ट जवाफ नदिएको रिजालका निकटस्थहरुले बताएका छन् ।
रिजाल पछिल्लो समय स्थानीय राजनीतिबाट राष्ट्रिय राजनीतिमा स्थापित र परिचित भएका थिए । काठमाडौं महानगरको वडा नं १६ मा दोश्रोपटक निर्वाचित भएका रिजाल महानगरका प्रमुख बालेन शाहको आलोचना गरेर चर्चामा आएका थिए । पछि रिजाल र बालेनको सम्बन्ध सुधार भएको थियो । रिजाल सामाजिक सञ्जाल टिकटकमा पनि परिचित थिए । उनी खुल्ला र उदार स्वभावको व्यक्ति भएको उनका निकटस्थहरुले बताएका छन् । रिजालको राजधानीमा बिहीवार ठूलो सहभागितमा पदयात्रा पश्चात पशुपति आर्यघाटमा दाहसंस्कार सम्पन्न भएको छ ।
स्वर्गीय रिजालका श्रीमती र दुईजना छोरा रहेका छन् ।