फुटुङ् आएर ज्ञानेन्द्र शाही गर्जिएः गाईगोरु काट्नेहरुलाई अब छाडिन्न
तारकेश्वर, २५ भदौ । गौवंश हत्याका विरुद्ध बुधवार राजधानीमा विरोध सभाको आयोजना गरेको राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले गौवंश हत्याका विरुद्ध एकजुट हुन अपिल गरेका छन् ।
सोमवार राप्रपा तारकेश्वर नगरपालिकाले आयोजना गरेको आन्दोलन तयारी कार्यक्रममा आएका शाहीले गौहत्याका विरुद्ध सबै सनातन धर्म मान्ने मानिसहरु एकतावद्ध हुनुपर्ने बताएका हुन् । विरोध सभा आयोजक समितिका सदस्य सचिवसमेत रहेका प्रवक्ता शाहीले राष्ट्रिय जनावर समेत रहेको हन्दुहरुको आस्थाको केन्द्र गाईको खुलेयाम हत्या गरेर हिन्दु धर्मावलम्वीको आस्थामाथि चोट पुर्याउने कार्य किमार्थ सहन गर्न नसकिने स्पष्ट पारे ।
गौहत्याका विरुद्ध चौतर्फी आवाज उठ्दासम्म गृहमन्त्रालयले दोषीलाई कार्वाही गर्न नसकेको भनेर आक्रोशित भएका शाहीले गृहमन्त्रीले अपराधीलाई कार्वाही नगरे जनताले गृहमन्त्रीलाई नै कार्वाही गर्ने बताए ।
राप्रपाले गौहत्याका विरुद्धमा बुधवार गर्न लागेको विरोधसभाको पूर्वसन्ध्यामा राप्रपाका प्रमुख सचेतक समेत रहेका शाही राजधानीका विभिन्न स्थानीय कमिटिहरुसँग मिलेर तयारी गरिरहेका छन् । राप्रपा तारकेश्वर नगरकमिटिले आयोजना गरेको तयारी कार्यक्रममा राप्रपाका सहमहामन्त्री अमृत पुडासैनी, केन्द्रिय सदस्यहरु चिरागमान सिंह कुवँर, आशा लामा, उद्धवराज भेटुवाल, तानपा राप्रपाका नगरअध्यक्ष बसन्त बस्नेत लगायत अगुवा नेताकार्यकर्ता उपस्थित भएका थिए ।
राप्रपाले गौहत्या गर्नेलाई कार्वाहीको माग गर्दै एवं हिन्दुत्वको रक्षा र बढ्दो सांस्कृतिक अतिक्रमणका विरुद्ध बुधवार राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । उसले गौहत्याका विरुद्ध सबैलाई भृकुटीमण्डपमा एकजुट हुन अपिल पनि गरेको छ ।