कम्युनिष्ट सरकारको उपलब्धी ८ महिनामा प्रतिव्यक्ति ५ हजार रुपैयाँ ऋण थपियो
तारकेश्वर २०, चैत । चालु आर्थिक वर्ष २०७७र७८ को ८ महिनाको अवधिमा प्रत्येक नेपालीको टाउकोमा ५ हजार रुपैयाँ सार्वजनिक ऋण थपिएको छ ।
सरकारले चालु आर्थिक वर्षको ८ महिना अर्थात् दोस्रो चौमासिक (साउन–फागुनसम्म) को अवधिमा कुल १ खर्ब ९२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको छ।
गएको ८ महिनामा मात्रै सार्वजनिक ऋणको सावाँ र व्याज भुक्तानीमा ३८ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।
चालु आ वको सुरुको ८ महिनाको अवधिमा खुद सार्वजनिक ऋण थप १ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । कल ऋण रकमलाई नेपालको कुल जनसंख्याको टाउकोमा भाग लगाउँदा ५ हजार रुपैयाँ सार्वजनिक ऋण थप भएको छ ।
प्रत्येक नेपालीको टाउकोमा ५ हजार सार्वजनिक ऋण बोकाएर बृद्धभत्ता ५ हजार पुर्याउने ओली सरकारको निर्णय
नेपालको खुद सार्वजनिक ऋण भने १५ खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।
यो ऋणलाई जनसंख्याको अनुपातमा हिसाब गर्दा प्रतिव्यक्ति ऋण ५२ हजार ४ सय ५२ रुपैयाँ पुगेको छ ।
सरकारले असार मसान्तसम्म आन्तरिक ऋण ६ खर्ब १३ अर्ब ७४ करोड लिएकोमा चालु आवको ८ महिनामा १ खर्ब १२ अर्ब ५१ करोड रुपैयाँ ऋण लिएको छ ।
८ महिनामा आन्तरिक ऋणको सावा फिर्ता भुक्तानीमा ८ अर्ब २२ करोड र ब्याज भुक्तानीमा १५ अर्ब ८ करोड रुपैयाँ खर्च भएको छ ।
असार मसान्तसम्म बाह्य ऋण ८ खर्ब ६ अर्ब १४ करोड रुपैयाँ रहेकोमा ८ महिनाको अवधिमा ७९ अर्ब ९० करोड ९१ लाख रुपैयाँ बाह्य ऋण थपिएको छ ।
यस अवधिमा वैदेशिक ऋण फिर्ता १२ अर्ब ५ करोड र ब्याज भुक्तानीमा ३ अर्ब ४८ करोड रुपैयाँ भएको छ ।