लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजिनामा

तारकेश्वर,१९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजिनामा दिएका छन ।

अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार वहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पुनः सरकार बनाउन राजीनामा दिएका हुन्। लुम्बिनी प्रदेशसभामा आज दिउँसो सरकारबिरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची रहेको समयमा मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाउनुभएको हो ।

अहिले लुम्बिनी प्रदेशमा ६ जना प्रदेश सभा सदस्य पदमुक्त भएपछि ८१ सदस्यमात्र छन् । एमालेका ४१ सांसद भएकाले अब एमालेको एकल बहुमत हुनेछ ।

बैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

त्यसपछि उहाँले जसपाका चार सांसदलाई मन्त्री नियुक्ति दिएर पद बचाउने प्रयास गर्नुभएको थियो । जसपाले आफ्ना चारै सांसदलाई पदबाट बर्खास्त गरिसकेको छ ।