बजारमा हरियो तरकारीदेखि कुखुराको मासुको भाउसमेत घट्यो

काठमाडौं, ५ जेठ । केही समय अगाडि महँगिएको तरकारीको मूल्य एकाएक सस्तो भएको छ। एक महिना अघि हरियो तरकारीको मूल्य बढेको भएतापनि अहिले सस्तिएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार गत वैशाख ६ गते तोरीको सागको थोक मूल्य प्रति केजी ५५ रुपैयाँ थियो । तर, जेठ ५ गते तोरीको सागको मूल्य प्रतिकेजी २५ रुपैयाँ रहेको छ । एक महिना अघिको मूल्यसँग तुलना गर्ने हो भने तोरीको सागको मूल्य आधाले घटेको पाइन्छ ।
एक महिना अवधिको सूचि हेर्ने हो भने वैशाख ६ मा परवलको प्रतिकेजी औसत मूल्य ९५ रुपैयाँमा कारोबार भएको थियो। तर त्यही तरकारी जेठ ५ गते प्रतिकेजी ५५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, घिरौँला प्रतिकेजी औसत मूल्य ७० रुपैयाँ रहेकोमा अहिले प्रतिकेजी औसत मूल्य ३७ रुपैयाँमा किनबेच भइरहेको छ । घिउ सिमी वैशाख ६ गते प्रतिकेजी औसत मूल्य ११५ रुपैयाँ रहेको थियो। तर, जेठ ५ बुधवार घटेर प्रतिकेजी औसत मूल्य ५५ भएको छ । त्यस्तै गाजर प्रतिकेजी औसत मूल्य ७५ रुपैयाँ रहेकोमा अहिले आएर प्रतिकेजी औसत मूल्य ४२ रुपैयाँ रहको छ ।
हरियो तरकारीको मात्र नभएर प्याज, आलु, अदुवा, लसुनको मूल्यमा समेत निकै गिरावट आएको छ। त्यसै गरी कुखुराको मासुको मूल्य समेत ४५ प्रतिशतले सस्तो भएको छ। तर, खसी र माछाको मूल्यमा भने खासै कमी आएको छैन।