बैङ्क तथा वित्तीय संस्थाले लघुवित्तको सेयर किन्न नपाउने
काठमाडौँ, १२ जेठ । बैङ्क तथा वित्तीय संस्थाहरूले लघुवित्तको सेयर किन्न नपाउने भएका छन् । किनेको सेयर पनि आगामी पुस मसान्तभित्रै बिक्री गरिसक्नुपर्ने भएको छ ।
लघुवित्तको सेयर मूल्य उच्च दरले बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि नियामक नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले लघुवित्तको सेयर किन्न नपाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैङ्कले एकीकृत निर्देशिकामा संशोधन गर्दै बैङ्क तथा वित्तीय संस्थालाई विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनका लागिबाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न नपाइने व्यवस्था गरेको हो ।



