नेपाली कांग्रेस नुवाकोटको जिल्ला सभापतिमा रमेश महत विजयी

काठमाडौ । नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेश महत विजयी भएका छन् । १४ औं महाधिवेशन अन्तर्गत मंसिर १० गते भएको नुवाकोट जिल्ला अधिवेशनको निर्वाचनले महतलाई सभापतिमा चयन गरेको हो ।
रमेश महतले डां केदार नरसिंह केसीलाई १० मतले पराजित गरेका हुन् । महतले ८३३ र केसीले ८२३ मत प्राप्त गरे ।
विजयी भएसँगै नव निर्वाचित सभापति महतले सबै मतदातालाई धन्यवाद दिँदै पार्टीका हरेक सदस्यको शिर उँचो राख्ने प्रतिबद्धता जनाएका छन् । उनले फेसबुकमा लेखेका छन् – “नेपाली कांग्रेसको १४ औ महाधिवेशनको क्रममा अशल बिचार समुहले भाग लिएको मेरो ऊमेदवारीलाई समर्थन गरि नुवाकोट जिल्लाको जिल्ला सभापति पदको ज़िम्मेवारीमा पुर्याउनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु । यस गहन ज़िम्मेवारीलाई  महत्वपुर्ण ज़िम्मेवारीको रुपमा लिई यस सामुहिक ज़िम्मेवारीलाई कर्तव्यवोधको रुपमा लिई पार्टी र पार्टीको हरेक सदस्यहरुको शिर उँचो राख्ने छौ । पार्टीका नेता,कृयाशिल सदस्यहरु,क्षेत्रिय प्रतिनिधिहरु र पार्टिका सम्पुर्ण ज़िम्मेवार नेताज्यूहरुमा हार्दिक धन्यवाद ।”
यो जीतसँगै नुवाकोट कांग्रेस सभापतीमा केसी समूहको राज समाप्त भएको छ । सधैं केसी र महत समूहको प्रतिष्पर्धाले नुवाकोटको कांग्रेस राजनीति चर्चामा आउने गर्दछ । यसपटक पनि नुवाकोट कांग्रेसको अधिवेशनमा सबैको नजर थियो । महतलाई डा. प्रकाशशरण महत, डा. रामशरण महत र बहादुरसिंह लामाको समर्थन थियो ।